विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (पुस २१ गते)देखि थप सार्वजनिक निष्कासन (FPO) मार्फत साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार संस्थापक र सर्वसाधारण समूहबीचको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्नुपर्ने प्रावधानअनुसार लघुवित्तले थप सार्वजनिक निष्कासन गर्न लागेको हो।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरपछि बनेको यस संस्थाको हाल कायम चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ रहेको छ। मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९ः२५.६१ कायम रहेकोमा उक्त अनुपात समायोजन गर्न थप सार्वजनिक निष्कासन गर्न लागिएको लघुवित्तले जनाएको छ।
स्वीकृत विवरणपत्रअनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सार्वजनिक रूपमा निष्कासन गर्दैछ। यसबाट कुल ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ संकलन हुने अनुमान गरिएको छ।
निष्कासन पुस २१ गतेदेखि खुला भई छिटोमा पुस २४ गते बैंकिङ समयपछि बन्द हुनेछ भने ढिलोमा माघ ५ गतेसम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
थप सार्वजनिक निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपाल लिमिटेडले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ बीबी प्लस प्रदान गरेको छ। यस रेटिङले लघुवित्तको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा औसतभन्दा कमजोर जोखिम रहेको संकेत गर्दछ। उक्त रेटिङको वैधता २०८३ मंसिर ४ गतेसम्म कायम रहनेछ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।