काठमाडौं। श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए। यसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोला प्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। बाँडफाँट गर्दा शेष रहेको ३ कित्ता सेयर सोही लगानीकर्तामा वितरण गर्दा ३ जना आवेदकले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।