काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) का कारण पीडित सिटौला अछाममा रहँदा अचानक बेहोस भएर ढलेपछि उपचारका लागि शुक्रबार काठमाडौं ल्याइएका थिए।
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा आज दिउँसो १२ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ।
४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा टोलीसँगै अछाम पुगेका थिए। सिटौलाको निधनले पत्रकारिता तथा चलचित्र क्षेत्र शोकमा डुबेको छ।