पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

आँगे डाँडामा ‘खान्डु राजा’ को दरबार रहेको दाबी गर्दै स्थानीयले सुरु गरेको उत्खननका क्रममा ऐतिहासिक संरचनाको भग्नावशेष फेला

न्युज डेक्स १२ वैशाख २०८३, शनिवार

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ स्थित आँगे डाँडामा ‘खान्डु राजा’ को दरबार रहेको दाबी गर्दै स्थानीयले सुरु गरेको उत्खननका क्रममा ऐतिहासिक संरचनाको भग्नावशेष फेला परेको छ ।  
प्रारम्भिक उत्खननका क्रममा भवनको जस्तो देखिने जग तथा पर्खालको अवशेष भेटिएपछि उक्त स्थान दरबार हुन सक्ने अनुमानसहित उत्खनन कार्य अघि बढाइएको हो । स्थानीय विश्वासअनुसार खान्डु कुनै समयका प्रख्यात थामी समुदायका राजा हुनुहुन्थ्यो ।  
दोलखा जिल्ला थामी समुदायको उद्गम स्थल रहेको मान्यता पनि प्रचलित छ ।  कालिञ्चोक–९ का ८५ वर्षीय थामी अगुवा गोपीलाल थामीले आफूले बाल्यकालदेखि नै आँगे डाँडामा खान्डु राजाको दरबार रहेको कथा सुन्दै आएको बताउँदै हाल भेटिएको संरचनाले सो किम्बदन्तीप्रति विश्वास अझ बलियो बनाएको बताउनुभयो । थामी संस्कृति उत्थान समाजका अध्यक्ष हिरालाल थामीका अनुसार थामी समुदायको पहिचान, कला तथा संस्कृतिको संरक्षणका लागि भवन निर्माण गर्ने प्रारम्भिक योजना अन्यत्र भए पनि पुर्खाको दरबार यही स्थानमा रहेको भनाइलाई आधार मानेर सोही स्थान छनोट गरिएको हो ।  उक्त जग्गा पहिले निजी स्वामित्वमा रहेकामा स्थानीय समुदायले चन्दा संकलन गरी खरिद गरेको उहाँले जानकारी दिनुभयो ।  
साथै, बागमती प्रदेश सरकारबाट संरक्षणका लागि आर्थिक सहयोग प्राप्त भएको पनि जनाइएको छ । सदरमुकाम चरिकोटबाट चरिकोट–सिंगटी सडक हुँदै करिब १६ किलोमिटर यात्रा गरी कटुवा चौर पुगिन्छ ।  त्यहाँबाट करिब एक किलोमिटर पैदल गोरेटो बाटो हुँदै आँगे डाँडा पुग्न सकिन्छ, जहाँ हाल स्थानीयले उत्खनन कार्य जारी राखेका छन् । उत्खननका क्रममा करिब ५४ फिट लम्बाइ र ५४ फिट चौडाइ भएको संरचनाको आधार तथा करिब ६ फिट अग्लो पर्खाल भेटिएको छ ।
  हालसम्म नौ वटा कोठाको स्वरूप स्पष्ट देखिएको छ भने पश्चिमतर्फ थप संरचनाको जगसमेत फेला परेको छ ।  बाँकी उत्खननपछि १६ कोठासम्मको संरचना हुन सक्ने अनुमान गरिएको छ । भित्तामा कोइला भेटिनु, ढुङ्गाको संरचना तथा झ्यालजस्तो आकृति देखिनुका आधारमा उक्त भवन आगलागी वा भूकम्पका कारण ध्वस्त भएको हुन सक्ने अनुमान गरिएको छ ।  लामो समयको अन्तराल र पहाडी क्षेत्रमा काठ क्षय भइसकेका कारण काठका संरचना नष्ट भएको हुन सक्ने स्थानीयको बुझाइ छ  । हाल उत्खनन वैज्ञानिक वा पुरातत्त्वविद्को प्रत्यक्ष संलग्नताबिना स्थानीयस्तरमै भइरहेको छ ।  संरचनाको स्वरूप हेर्दा सामान्य आवासीय भवनभन्दा फरक र दरबार शैलीको देखिएकाले खान्डु राजासम्बन्धी किम्बदन्ती ऐतिहासिक तथ्यसँग जोडिन सक्ने स्थानीयको दाबी छ । 
यद्यपि खान्डु राजा नै हुनुहुन्थ्यो वा होइन भन्ने विषयमा हालसम्म ठोस ऐतिहासिक प्रमाण फेला परेको छैन । 
 उहाँ दोलखा राज्यका भारदार वा उत्तरी भेगका स्थानीय शासक हुन सक्ने अनुमानसमेत गरिएको छ । 
स्थानीयले उक्त संरचनाको वैज्ञानिक उत्खनन, संरक्षण तथा अनुसन्धान राज्यस्तरबाट गरिनुपर्ने माग गरेका छन् ।  साथै, खान्डुको ऐतिहासिक पक्षबारे गहन अध्ययन आवश्यक रहेको उहाँहरूको जोड छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु