पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त, शपथ आजै

न्युज डेक्स २६ जेठ २०८३, मङ्गलवार

काठमाडौँ । गृहमन्त्रीमा पुनः सुधन गुरुङ नियुक्त भएका छन् । उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

व्यापारी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध सार्वजनिक भएपछि गुरुङ विवादमा परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गुरुङले सेयर खरिद गरेको विषयले व्यापक प्रश्न उठाएको थियो।

सेयर खरिदमा प्रयोग भएको रकमको स्रोतबारे आलोचना भएपछि गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर किनेको दाबी गरेका थिए। विवाद चुलिएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिनमात्र उक्त जिम्मेवारीमा रहेका थिए।

यस प्रकरणको छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।

समितिलाई गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो। पछि समय अपुग भएपछि थप पाँच दिन म्याद थपिएको थियो।

छानबिनपछि समितिले गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। गुरुङका सेयर तथा चल-अचल सम्पत्तिको अध्ययनपछि समितिले सम्पत्ति वैध रहेको ठहर गरेको हो।

समितिले बुझाएको ४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङको सम्पत्तिलाई वैध देखाइएको छ भने सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिको कमजोरीभन्दा पनि राज्य प्रणालीको कमजोरीका रूपमा व्याख्या गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु