पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

इजरायलले ठूलो संख्यामा नेपाली कामदार लैजाइँदै, वैदेशिक रोजगार विभागले आवेदन खुलायो

न्युज डेक्स १३ जेठ २०८३, बुधवार

काठमाडौं । नेपालबाट इजरायलले २ हजार ३ सय कामदार लैजाने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारका रूपमा २ हजार ३ सय नेपाली कामदार लैजाने गरी वैदेशिक रोजगार विभागले आवेदन आह्वान गरेको छ ।

कुल माग सङ्ख्यामध्ये ४० प्रतिशत पुरुष र ६० प्रतिशत महिला कामदारका लागि कोटा निर्धारण गरिएको छ । योग्य नेपाली नागरिकले विभागको अनलाइन वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । अनलाइन दरखास्त पेस गर्ने प्रक्रिया आगामी २०८३ जेठ १७ गते राति १२ बजेदेखि सुरु भई २०८३ असार ७ गते राति १२ बजेसम्म खुला रहने विभागले जनाएको छ ।

सरकारी प्रक्रिया अन्तर्गत इजरायल जान इच्छुक उम्मेदवारहरूका लागि निश्चित योग्यता तथा मापदण्डहरू तोकिएका छन् । आवेदन दिने व्यक्ति २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ । शारीरिक रूपमा कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्नेछ ।

शैक्षिक योग्यताका रूपमा कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा न्यूनतम १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट केयरगिभिङ सम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

आवेदकले विगतमा इजरायल गई काम नगरेको हुनुपर्ने तथा निजको बुबा, आमा, पति, पत्नी वा छोराछोरी हाल इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ । साथै, आवेदकको पासपोर्टको म्याद प्रवेशाज्ञा प्रक्रिया सुरु हुँदा कम्तीमा ३ वर्ष बाँकी रहेको हुनुपर्नेछ ।

उम्मेदवार शारीरिक तथा मानसिक रूपमा पूर्ण स्वस्थ हुनुपर्नेछ र क्षयरोग, हेपाटाइटिस, भिरिङ्गी, गोनोरिया वा एड्स जस्ता कुनै पनि दीर्घ रोगबाट ग्रसित नभएको तथा गह्रौँ सामान उचाल्न सक्ने क्षमता भएको हुनुपर्ने पूर्वसर्त रहेको छ ।

अंग्रेजी भाषाका लागि विशेष मापदण्ड तोकिएको छ । आवेदकले तोकिएको संस्थाबाट लिइएको क्याम्ब्रिज अपस्किल अंग्रेजी टेस्ट उत्तीर्ण गरेको हुनुपर्नेछ ।

आवेदन फाराम भर्दा वैध प्रहरी चारित्रिक प्रमाणपत्र, पासपोर्टको स्क्यान कपी, उचाइ र तौल खुलाइएको स्व-घोषणा फाराम तथा गोपनीयताको मञ्जुरीनामा फाराम समेत अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ ।

छनोट भएका सहायक कामदारहरूले इजरायलका स्याहार केन्द्रहरूमा रहेका गम्भीर शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह, सरसफाइ र पोषण सम्बन्धी कार्य गर्नुपर्नेछ ।

यस पदका लागि मासिक तलब ६,४४३.८५ इजरायली मुद्रा (करिब नेपाली रुपैयाँ २ लाख ५० हजारभन्दा बढी) रहनेछ । हप्तामा ६ दिन र प्रतिहप्ता ४२ घण्टा काम गर्नुपर्नेछ, साथै नियमानुसार ओभरटाइम सुविधा समेत हुनेछ । सुरुमा १ वर्षको करार अवधि रहने र यसलाई अधिकतम ५ वर्षसम्म थप गर्न सकिने व्यवस्था रहेको छ ।

कामदारको मासिक पारिश्रमिकबाट आवास, खाना, स्वास्थ्य बिमा र करबापतको रकम इजरायली कानुन अनुसार कट्टा हुनेछ । साथै रोजगारदाताले कामदारको नाममा मासिक पारिश्रमिकको १२.५ प्रतिशत रकम विदेशी कामदार कोषमा जम्मा गरिदिने व्यवस्था रहेको छ, जुन रकम करार अवधि समाप्त भई इजरायल छोड्दा फिर्ता पाइनेछ ।

हवाई भाडा, स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोष लगायतका अन्य पूर्व–प्रस्थान खर्चहरू भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी

सम्बन्धित समाचारहरु