शिवरात्रीको दिन पशुपतिनाथ मन्दिर परिसरमा २५ वर्षीय सन्तोष गिरीको संकास्पद मृत्यु भएको छ। मृतक गिरी संखुवासभाका हुन्। उनको शरीरमा चोटपटक देखिएपछि प्रहरीले घटना संकास्पद भएको आशंकामा अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार गिरी पशुपति क्षेत्रमा बस्ने र मागेर खाने व्यक्ति थिए।
शिवरात्रीमा मन्दिरमा उपस्थित एक व्यक्तिको मोबाइल हराएको थियो र उनको मोबाइल मृतक गिरीले चोरी गरेको आरोप लगाइएको थियो। त्यसपछि उक्त व्यक्तिले गिरीलाई प्रहरीको जिम्मा लगाएका थिए। तर, प्रहरीले मोबाइल फेला नपारेपछि गिरीलाई छोडिदिएको थियो। प्रहरीले छोडेको व्यक्ति नै पछि मृत फेला परेपछि घटना अझै शंकास्पद भएको भन्दै अनुसन्धान तीव्र बनाइएको छ।
प्रहरीको प्रारम्भिक विश्लेषण अनुसार, गिरीलाई मोबाइल चोरीको आरोपमा नियन्त्रणमा लिएर रातभर यातना दिइएको र हत्या गरिएको हुनसक्ने सम्भावना रहेको छ। लामो समय भारतको बनारसमा बस्ने ‘बाबा’ पछिल्लो समय नेपालमै बस्दै आएका छन्। उनी राजवंशी थरका नेपाली नागरिक हुन्।
मृतक गिरीसँगै देखिएका ‘बाबा’ अहिले फरार रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन्। प्रहरीले ‘बाबा’ को खोजी गरिरहेको छ र मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि थप जानकारी सार्वजनिक गर्ने तयारीमा छ।